Thursday, March 9, 2017

शिव मानसपूजा स्तोत्र - नेपाली भावानुवाद

– भावानुवाद  मुरारीराज मिश्र

हे दीनबन्धु, दयानिधे, हे देव पशुपतिनाथ ।
गर्न बसेँ म पूजा तिम्रो, छैन सामाग्री साथ ।।
रुप सम्झदैँ मनले तिम्रो, भक्ति गर्छु प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।१।।
 
तिम्रो लागि स्वर्ण सिँहासन, मनमै कल्पी बनाएँ ।
शीतल हिमालयको जलले, तिम्रो स्नान गराएँ ।।
रत्न जडेको बस्त्राभूषण– पहि¥याउन ल्याएँ प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।२।।

शुद्ध श्रीखण्ड र कस्तुरी हाली , चन्दन लेप बनाएँ ।
अनेकन पुष्प र बेलपत्रको, पुष्पाञ्जलि चढाएँ ।।
धूप, दीप सहित शङ्ख बजाई, आरती गर्छु प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।३।।


स्वर्णपात्रमा दहि, दुध, घिउ र सर्वत हाली ल्याएँ ।
जे–जति सम्झेँ – व्यञ्जन सारा, तिम्रै लागि बनाएँ ।।
पान, सुपारी र फल पनि ल्याई, चढाउँदैछु प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।४।।

छत्र, चवँर अनि दर्पण पङ्खा, कल्पी–कल्पी बनाएँ ।
मृदङ्ग, वीणा, दुन्दुभी बाजा, जानी–नजानी बजाएँ ।।
नाच–गान अनि गरि प्रणाम, स्तुति पनि गर्छु प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।५।।

मेरो “आत्मा” शिव तिमी नै हौ, “बुद्धि” पार्वती माता ।
तिम्रा गणहरु “प्राण” मेरा, तिमी नै मेरो “बिधाता” ।।
शरीर यो मेरो “तिम्रै मन्दिर”, बास बसिदेऊ प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।६।।

म जति हिँड्छु “परिक्रमा” होस्, बोली “पाठ” बनोस् ।
बिषयभोग सबै नै “पूजा” तिम्रो, निन्द्रा “समाधि” बनोस् ।।
जे–जति कर्म गर्दछु मैले, “आराधना” होस् प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।७।।

हात–पाउ अनि बोली, शरीर, आँखा, कान र कर्मले ।
जानी–नजानी जसरी भएपनि, मैले गरेको कुकर्मले ।।
पोल्यो मलाई, क्षमा गरिदेऊ, माफी माग्छु प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।८।।
       ---------
 

No comments:

Post a Comment

Please Leave me feed Back here as comments . Thank you .