Thursday, March 9, 2017

शिव–पञ्चाक्षर स्तोत्रको नेपाली भावानुवाद

– भावानुवाद  मुरारीराज मिश्र
नागको हार घाँटीमा, तीन्वटा छन् नयन पनि ।
घसेर अङ्गमा भष्म, दिगम्वर भै–रहने उनी ।।
संधै शुद्ध अविनाशी, भोलेनाथ महेश्वर ।
 “न” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।।
मन्दाकिनी नदीजलले, गर्छन् स्नान संधै भरी ।
पूजा हुंदा चढाईन्छ, चन्दन, पुष्प थरी–थरी ।।
प्रथमगण–नन्दीका स्वामी, अधिपति महेश्वर ।
“म” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।।
शिव– बृष ध्वजाधारी, कल्याण–सूर्यरुपी पनि ।
दक्ष–यज्ञ बिनास गर्ने, स्वामीहुन गौरीका उनी ।।
शोभाशाली उनै ईश्वर, नीलकण्ठ महेश्वर ।
“शि” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।।
वशिष्ठ मुनी, इन्द्रादि, गर्छन् शिरको पूजा पनि ।
चन्द्र, सूर्य र अग्नी तीन, बस्छन् जस्को नयन बनी ।।
मुनी–आराध्य उनै शम्भु, आशुतोष महेश्वर ।
“व” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।।
यक्षरुपी, जटाधारी, हातमा हुन्छ पिनाक धनु ।
सनातन, दिव्य, शक्तिमान् – पुरुष हुन, अरु के भनुं ।।
गङ्गाधारी, अविनाशी, दिगम्वर श्री महेश्वर ।
“य” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।।
पवित्र पञ्चाक्षर श्लोक जस्ले,
पाठ् गर्छ नित्य, शिव सामु त्यस्ले,
मरेपछि, दिव्य स्वरुप पाउला,
आफ्नो मनु–जन्म, सफल बनाउला ।।
         ——समाप्त——

No comments:

Post a Comment

Please Leave me feed Back here as comments . Thank you .